काठमाडौं । शनिबार देशभर भीषण वर्षा हुने र यसले नदीहरुमा जलप्रवाह बढाउने भएका छ । शनिबार देशभर नै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार सात वटै प्रदेशमा मेघगर्जनसहित भारी वर्षा हुने छ । मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जानकारी गराएको छ । अहिले प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशको अधिकांश भू भागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना छ । शनिबार राती देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसअघि बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले तराई भेगमा डुबान निम्तिएको छ ।