काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो ।
तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ ।
लकडाउन गरिरहेको सरकारले परिक्षण समेत सँगै बढाउँदै कोरोना संक्रमणविरुद्ध लड्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार प्रत्येक प्रदेशमा ५ हजारको दरले किट पठाइ सकिएको छ । सरकारले यो किटबाट सुदूरपश्चिमको कैलालीमा परीक्षण गर्न सुरू गरेको छ ।
किटले १५ मिनेटमै परीक्षणको नतिजा दिने बताएको छ । यसरी संकलन भएको किटको गुणस्तर जाँच्न कैलाली र कञ्चनपुरबाट २ सय नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।
त्यसमध्ये ६६ नमुना परिक्षण गरिएको हो । नेपालमा करीव २४ सय परिक्षण भइसकेको छ । जसमा ९ जनामा मात्र कोरोनाको संक्रमण देखिएको छ ।
त्यसमा पनि १ जना निको भइसकेका छन् । कोरोना पोजेटिभ बिरामीको समेत कोरोनाको लक्षण नदेखिएको र स्वस्थ रहेको बताइएको छ ।