शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक दाहाल विश्वस्त

File : सर्जना कार्की / रासस

चितवन, २० फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताएका छन् । मतदानका लागि आज चितवन आएका दाहालले निर्वाचन शान्तिपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताए । सबै राजनीतिक दलहरुको सहभागितामा निर्वाचन हुने भएकाले कुनै समस्या नहुनेमा आफू ढुक्क रहेको उनले बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी स्कुल मतदान केन्द्रमा मतदान गर्नेछन् । यो स्थानमा एक हजार ८६५ मतदाता र दुई वटा मतदान केन्द्र छन् । यही केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि मतदान गर्नेछन् ।