काठमाडौं । काठमाडौंमा शुक्रबारबाट कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले खोप पाउने जानकारी गराएका छन् । उनका अनुसार शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई समेत भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।
खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको हो । काठमाडौं उपत्यकामा ३२ वटै वडा कार्यालयमा पुगेर खोप लगाउन सकिने छ । कक्षा ११ र १२ का विद्यार्थीले खोप पाएपछि भने परीक्षा संचालनको तयारी छ ।
काठमाडौंमा वडा कार्यालयबाहेक सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाउन सकिने भएको छ ।
काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र तथा अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्रमा खोप लगाउन सकिने भएको हो ।