काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी धुमधामसहित मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने प्रचलन छ ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । आज बिहान १० बजेर ४७ मिनेटमा नासल चोकमा वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।