चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५ वर्षीया श्रीमती रूष्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरेका थिए ।
आफ्नै घरको तीन तलामाथिको बैठक कोठामा खुकुरी प्रहार गरेर आचार्य हाम फालेर भाग्न खोजेका थिए । घरायसी विवादका कारण सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । रूष्मालाई पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले पौने ११ बजेतिर मृत घोषणा गरेका थिए ।
तीन तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएका कृष्णप्रसाद आचार्यलाई उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको पनि राति ११ बजे निधन भएको हो । आचार्य केही महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए ।