श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

Photo courtesy Sri Lanka Brief

कोलम्बो\बीबीसी । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्न र ती शिविरका पाल निकाल्न थालेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए। बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका भिडिओ हटाइ दिएका छन्।

रनिल विक्रमसिङ्घले राष्ट्रपति पदको शपथ लिएपछि यस्तो घटना भएको हो। श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबय राजपक्षले गत साता देश छोडेर भागेका थिए। पूर्व प्रधानमन्त्री समेत रहेका विक्रमसिङ्घ जनतासामु अलोकप्रिय नेता हुन्। उनले प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन्। केही प्रदर्शनकारीहरूले भने उनलाई मौका दिने बताएका छन्। चरम आर्थिक सङ्कटमा परे पछि श्रीलङ्कामा महिनौँदेखि व्यापक अशान्ति छाएको छ।

धेरैले राजपक्ष प्रशासनले देशको वित्तीय व्यवस्थापन सही ढङ्गमा नगरेको दोष लगाएका छन् र विक्रमसिङ्घलाई पनि समस्याको एक कारकको रूपमा हेर्छन्। उनले संसद्को मत जितेको भोलिपल्ट सडकमा प्रदर्शनहरू भए। शपथ लिए लगत्तै विक्रमसिङ्घले सरकार ढाल्ने वा सरकारी भवनहरू कब्जा गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक गतिविधि नभएको स्पष्ट पारे र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिए।

प्रदर्शनकारीहरूमा सरकारले आफू विरोधी आन्दोलनलाई क्रमबद्ध ढङ्गले बन्द गर्न सक्ने चिन्ता थियो। बीबीसीका कोलम्बोस्थित संवाददाता अनबरसन इथिराजनका अनुसार मध्यरातमा कोलम्बोमा सरकार विरोधी प्रदर्शन स्थलमा सेनाले छापा मार्ने जानकारी पाएपछि उनीहरू श्रीलङ्काली राष्ट्रपति कार्यालय अगाडि पुगेका थिए। केही बेरमा त्यहाँ सयौँ सशस्त्र सेनाहरू र दङ्गाका क्रममा शरीर जोगाउन लगाइने पोसाकमा प्रहरीहरू आएको उनले बताए। दुई वटा फरक दिशाबाट आएका उनीहरूको अनुहार छोपिएको थियो।

‘उनीहरूको उपस्थितिमा प्रदर्शनकारीले आपत्ति जनाएपछि सुरक्षाकर्मी अघि बढ्न थाले र आक्रामक बने। त्यसपछि आन्दोलनकारीहरू पछाडि धकेलिए,’ इथिराजनले सुनाए। केही बेरमै सेनाले चिच्याउँदै शिविरको पाल र अन्य वस्तुहरू भत्काउँदै नष्ट गरेको उनले बताए। गत साता ठूलो भिड पसेको राष्ट्रपति कार्यालयमा पनि सेना प्रवेश गर्यो। प्रदर्शनकारीहरूलाई तोकिएको विरोध स्थलभन्दा एक सय मिटर पर सारिएको र उनीहरूलाई छेक्न फलामे बार खडा गरिएको इथिराजनले बताए।