निजगढ । बाराको निजगढमा १८ वर्षीय युवक रोहित शर्माको हत्यामा उनका आफ्नै मिल्ने साथीको संलग्नता देखिएको छ । साथी साथी भएपनि एकले अर्कोलाई मार्ने धम्की दिएका कारण आफ्नै साथीको हातबाट उनको हत्या भएको देखिएको हो । प्रहरीले मंगलबार शर्माको हत्या गरेको आरोपमा रौतहट चन्द्रपुर ४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शर्माको बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमा सुतेको स्थानमै धारिलो हतियार प्रहारबाट हत्या भएको पाइएको थियो । दुई जनाबीच लागूऔषध सेवन गर्ने विषयमा विवाद भएको र एकले अर्कालाई मार्ने धम्की दिएका थिए । आफुले नमारेमा उसले मार्ने डरसहित आफुले साथिको हत्या गरेको शाहले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
हत्या हुनुभन्दा अघिल्लो दिन समेत उनीहरु सँगै बसेर लागूऔषध गाँजा, ट्याबलेट र रक्सी सेवन गरेको पाइएको छ । मार्ने मनसायले चक्कुसहित शर्माकै घरमा सुतेको र बिहान करिब ४ बजेतिर चक्कु प्रहार गरी हत्या पछि भागेको पाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हत्यापछि मोटरसाइकल प्रयोग गरी भागेको र प्रहरीले सोही मोटरसाइकलका आधारमा उनलाई फेला पार्न सफल भएको बताएको छ ।