संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदैछ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने परिवार स्रोतले जनाएको छ । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतासहितले श्रद्धाञ्जली व्यक्त गरेका छन् । १९९९ साल असोज १६ मा धनकुटामा जन्मिएका आचार्यको सोमबार निधन भएको हो ।

१६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय भक्तराज आचार्यका झण्डै साढे चार सय गीत रेकर्ड भएका छन् । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायतका गीतमा आवाज दिएका छन् । आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशील छन् ।