संचारमन्त्री शर्मा भारत भ्रमणमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारत गएकी हुन् ।

मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ ।

नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा विभिन्न देशका सन्चारमन्त्रीहरुलाई निम्तो दिइएको छ । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरु सहभागी हुने मन्त्रीस्तरीय सम्वादमा सहभागी हुने कार्यक्रम छ ।

बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि उनी सहभागी हुने मन्त्री शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए ।