संयुक्त राष्ट्र महासभा : नेताहरूको सहभागिता र प्रमुख एजेन्डा

NEW YORK, NEW YORK - SEPTEMBER 23: A general view as President of Brazil Luiz Inacio Lula Da Silva speaks during the 80th session of the UN’s General Assembly (UNGA) at the United Nations headquarters on September 23, 2025 in New York City. World leaders convened for the 80th Session of UNGA, with this year’s theme for the annual global meeting being “Better together: 80 years and more for peace, development and human rights.” Chip Somodevilla/Getty Images/AFP (Photo by CHIP SOMODEVILLA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

एजेन्सी
८ असोज, काठमाडौं । विश्व नेताहरू यस हप्ता संयुक्त राष्ट्र महासभाको ८०औँ सत्रका लागि न्युयोर्कमा भेला भएका छन् । त्यहाँ गाजा र युक्रेन द्वन्द्व प्रमुख छलफलको विषय बन्ने अपेक्षा गरिएको छ । म्यानहट्टनस्थित संयुक्त राष्ट्र मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय सामान्य बहससँगै वार्षिक सभा सेप्टेम्बर ९ मा आधिकारिक रूपमा प्रारम्भ भएको हो । परम्पराअनुसार ब्राजिलले पहिलो वक्ताका रूपमा बोल्ने गर्दछ, त्यसपछि आयोजक राष्ट्र अमेरिकाले सम्बोधन गर्छ । यो परम्परा सन् १९५५ देखि कायम छ ।

यस पटकको महासभा बढ्दो अन्तर्राष्ट्रिय तनावबीच आयोजना भएको हो । गाजामा इजरायलको सैन्य अभियान र युक्रेनमा रुसको युद्ध छलफल र कूटनीतिक भेटवार्तामा प्रमुख हुने देखिएको छ । फ्रान्स र साउदी अरेबियाले सोमबार प्यालेस्टिनी राज्यको मान्यताका लागि बैठक आयोजना गरेका थिए । अमेरिकी भिसा नपाएका प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भिडियोमार्फत सम्बोधन गर्नुहुनेछ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बोल्नुहुनेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की न्युयोर्क आइपुगेका छन् । उनले सामान्य बहस र द्विपक्षीय बैठक दुवैमा भाग लिनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रथम महिलासहित मुख्य सम्बोधन गर्ने र विभिन्न राष्ट्र प्रमुखहरूसँग बहुपक्षीय छलफल गर्ने कार्यक्रम छ । यसपटक धेरै प्रमुख शक्तिहरूका शीर्ष नेताहरू उपस्थित छैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभले प्रतिनिधित्व गर्नेछन् । चीनको नेतृत्व प्रधानमन्त्री ली किआङले गर्नेछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्थानमा विदेशमन्त्री एस जयशङ्करले प्रतिनिधित्व गर्नेछन् ।


जयशङ्करले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग व्यापार, रक्षा, ऊर्जा र खनिज सहयोगबारे छलफल गरेका छन् । उनले युरोपेली युनियन (इयु) का विदेशमन्त्री र अमेरिकाका राजदूत सर्जियो गोरसँग पनि भेटवार्ता गरेका छन् । विशेषतः सिरियाका राष्ट्रपति अहमद अल–साराले सन् १९६७ पछि पहिलो पटक महासभामा सम्बोधन गर्नेछन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियान र कतारी अमिर शेख तमिम बिन हमद अल–थानी पनि सहभागी हुनेछन् । यस वर्षको विषयवस्तु ‘एकसाथ राम्रोः शान्ति, विकास र मानव अधिकारका लागि ८० वर्ष र सोभन्दा बढी’ रहेको छ ।

महासभा अध्यक्ष एनालेना बारबकले यसलाई अन्तर्राष्ट्रिय सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा प्रस्तुत गरिन् । सन् १९४५ मा स्थापनापछि संयुक्त राष्ट्रसङ्घले ल्याएको उपलब्धि सुरक्षित गर्ने, संस्थालाई भविष्यअनुकूल बनाउने र विश्वव्यापी सङ्कटबीच सहयोग बढाउने महासभाको प्रमुख लक्ष्य रहेको छ ।