काठमाडौं । संविधानको रक्षार्थ प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका नेतालाई कारवाहीको तयारी गरिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर, अदालतले ह्वीप नलाग्ने भनेका कारण २२ सांसदले स्पष्टिकरण नबुझाउने भएका छन् । उनीहरुमाथि तत्काल कारवाहीको माग उठेको थियो । तर, एमाले भित्रै नराम्रो सन्देश जाने भन्दै आजसम्मका लागि समय दिइएको थियो ।
एमालेको केन्द्रीय कमिटी बैठक आजसमेत तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बोलाइएको छ । अपरान्ह ३ बजे बैठक बस्नेछ । अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनासहित कुल २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। माधव पक्षका १० नेता भने अनुपस्थित भए । भीम रावलले भने राजिनामा घोषणा गरेका छन् । अनुपस्थित भएका नेतालाई भने एमालेले कारवाही नगर्ने भएको छ । अब माधव कुमार नेपाल बीनै एमाले एकता प्रक्रिया अगाडी बढाउने तयारी ओली पक्षीय नेताले गरेका हुन् । यसमा भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेतासमेत सहमत हुने संकेत देखिएको छ ।