काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्य हुने दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।
बिहीबार दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको भएपनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम झिकिएको थियो ।
अन्तिम दिन तीन वटा बैठक बसे । पहिलो बैठकले राहदानीसहित ६ वटा विधेयक पारित गर्यो ।
दोस्रो बैठकमा मन्त्रीहरुले संसदमा उठेका तर जवाफ दिन नपाएका प्रश्न लिखित रुपमा उत्तर टेबल गरे । तेस्रो बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवासहित सबै दलका नेताले पालैपालो संसदमा सम्बोधन गरे ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो ।
उनको स्थानमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गरे ।
प्रधानमन्त्रीले भने अन्तिममा आएर नाम काटे । धेरैजसो सांसदले संसदमा प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदको अपमान भन्दा धेरै उनको स्वास्थ्य अवस्थासँग जोडेर हेरेका छन् ।
किनकी उनी पटक पटक बिरामीका कारण अस्पताल धाइरहेका छन् । चिकित्सकहरुले पनि सार्वजनिक कार्यक्रममा दौडधुप नगर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छन् ।
बुधबार निकै व्यस्त देखिएका प्रधानमन्त्री बिहीबार भने निर्धारित कार्यक्रमहरुमा उपस्थित भएनन् ।