संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएपछि विवाद उत्पन्न भएको छ । समितिनले उनलाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताइन् । कांग्रेस सांसदहरुले भने कार्यव्यस्तताका कारण नआएको भन्दै बैठकमा बचाउ गरे । निकै बेरे चलेको छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरेकी छिन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाएका थिए ।