काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनको मुद्दा अब अन्तिम फैसला आउने चरणमा प्रवेश गरेको छ । मुद्दाको आज पेसी तोकिएको छ। आज हेदाहेर्दैमा रहने पेसीले आफै पनि फैसला दिन सक्ने सम्भावना हुन्छ ।
आज नभ्याएको अवस्थामा एक दुई दिन भित्रै फैसला आउन सक्ने बताइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि नै सकिएको हो । त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।
इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यबाट समेत राय आइसकेको छ । फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन आदेश गरेको थियो । इजलासको आदेशअनुसार सोमबारसम्म सबै वकिलले बहसको नोट बुझाइसकेका छन् ।
सोही अनुसार आज मुद्दाको पेसी तोकिएको हो । सोही अनुसार अब यो मुद्दा निर्णायक मोडमा पुगेको हो । त्यसो त सर्वोच्चको फैसला आउने समयमा बढेको सरगर्मीले समेत अब छिट्टै फैसला आउने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फैसला सरकारको पक्षमा नआए आन्दोलनमा जाने चेतावनी दिइसकेका छन् । उनले देशभरका सभा हेरेर फैसला गर्न सुझाव समेत दिएका छन् ।