संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधि सभा विघटन गरि सरकारले निर्वाचन घोषणा गरेको सम्बन्धमा परेका रिटमाथि आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । विपक्षी सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित रिट दायर गरेका थिए । यस्तो रिट दायर गर्नेमा १४६ जना सांसद छ ।

७ जेठमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सोही दिन उनले मध्यावधी निर्वाचन घोषणा गरेकी हुन् । राष्ट्रपतिले आह्वान गरेको समयमा देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए। उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आफ्नो दावि प्रस्तुत गरेका थिए ।

तर, राष्ट्रपतिले १४९ जना सांसदले हस्ताक्षर बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरी संसद विघटन गरेसँगै सर्वोच्चमा ३० वटा रिट परेका छन् । ती सबै रिटको आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुने छ । रिटमध्ये पहिला देउवाको रिटमा सुनुवाइ हुनेछ । त्यसपछि अन्य २९ रिटमाथि सुनुवाइ हुने तालिका छ ।

पहिलो दिनको सुनुवाइमा देउवा पक्षले आफ्नो तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्नेछन् । आज अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीसहित वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादवले बहस गर्ने छन्।