काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा भिडभाड कम गर्न सरकारले आरोहणको संख्या निर्धारण गरेको छ । यसअनुसार अब एक दिनमा बढीमा १ सय ७० जना सम्म आरोहीले चुुचुरो जान सक्ने छन् । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न भन्दै यस्तो व्यवस्था ल्याएको बताएको छ ।
विभागका अनुसार सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा डोरी टागेको मितिबाट अनुकुल मौसम हेरेर आरोहण गर्न सक्ने भएका छन् । यसका लागि पहिलो चरणमा आरोहण अनुमति पत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले पहिलो चरणमा चुचुरो जान पाउने गरी विभागले पालो तोकि दिएको छ ।
उनीहरु फर्किसकेपछि आरोहण अनुमति पत्र नम्बर ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोही चुचुरोमा जान पाउने भएका छन् । आरोहण अनुमित पत्र नम्बर ७२ देखि पछि अनुमति लिएका आरोहीले भने त्यसपछिको अनुकुल मौसम हेरेर आरोहणमा जानु पर्नेछ ।
यसरी हुने व्यवस्थापनले समेत आरोहणमा असहज परिस्थिति उत्पन्न हुने देखिएमा भने सम्बन्धित एजेन्सीले आपसी सहमति र समन्वयमा एक पटकमा १५०–१७० जनाको संख्या नबढ्ने गरी आरोहण व्यवस्थापन गर्न सक्ने विभागको सूचनामा उल्लेख छ ।
हिमाल आरोहणका दौरान अनुमति प्राप्त हिमालको आरोहण रुटमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो रुटमा रहँदा आफ्नो समूहमा मात्र रहन समेत विभागले आरोहीलाई भनेको छ । यो वर्ष एउटै सिजनमा दुई हिमालको आरोहणमा जान चाहने पर्यटकले एक हिमालबाट फर्केपछि पीसीआर परीक्षण गर्नुपर्ने भएको छ ।
पीसीआर परीक्षणमा नेगेटिभ रिर्पोट आएमा मात्र पर्यटकले अर्को हिमाल आरोहणको अनुमति पाउने छन् । आरोहणका क्रममा कुनै पनि पर्यटकको खोजी तथा उद्दार गर्नु परेमा पर्यटन विभाग र पर्यटन प्रहरी इकाईमा अनिवार्य जानकारी गराउनु पर्ने प्रावधान समेत तोकिएको छ ।