काठमाडौं । निषेधाज्ञाको समयमा सडकमा हिड्ने सर्वसाधारणलाई प्रहरीले अब होल्डिङ सेन्टरमा राख्न नपाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अहिले मास्क नलगाई सडकमा निस्किएमा प्रहरीले जरिवाना गर्छ । साथै त्यस्तो व्यक्तिलाई निश्चित समय होल्डिङ सेन्टरमा राख्ने गरिएको छ ।
न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क नलगाउनेसँग जरिवाना लिने उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
‘यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल नेपाल प्रहरीले अनधिकृत रुपमा प्रयोग गरेको देखिँदा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्नू, नगराउनू’ आदेशमा उल्लेख छ ।
यद्दपी कोरोना महामारीमा मास्क लगाउनुपर्ने नागरिकको दायित्व भएको पनि सर्वोच्चको भनाई छ । तर, विपन्न नागरिकलाई मास्कको सहज आपूर्ति र वितरण नभएका कारण समस्या भएको सर्वोच्चले उल्लेख गरेको छ।