सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

काठमाडौं । सत्ता गठबन्धनले चुनावी कमाण्डर रामचन्द्र पौडेललाई तोकेको छ । सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएको छ । बिहीवार बसेको गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ ।

यस्तै प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्नेछ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा पालिकामा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने निर्णय गठबन्धनले गरेको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारासहित मतदातासम्म पुग्ने निर्णयसमेत गठबन्धनले गरेको छ ।

सत्ता गठबन्धनले कात्तिक ४ गते बिहान ११ बजे पोखरा, त्यही दिन दिउँसो २ बजे बुटवल, कात्तिक ५ गते दिउँसो ११ बजे विराटनगर, त्यही दिन दिउँसो २ बजे जनकपुर, कात्तिक ६ गते बिहान ११ बजे धनगढी, कात्तिक ६ गते दिउँसो २ बजे सुर्खेत र कात्तिक ७ गते बिहान काठमाडौंमा भेला गर्ने भएको छ ।