काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारीमा जुटेका छन् । गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । यसै बैठकबाट प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने विषय टुंगो लगाइने भएको छ । गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ ।
यसमा कांग्रेसले माग्ने सीटको साझा धारणा बनाउने तयारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलस्तरबाट भने अहिलेसम्म कुनै निष्कर्ष आउन सकेको छैन ।