काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनमा सहभागी हुने संकेत गरेका छन् । उनले बिहीबारबाट काठमाडौंमा शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका उनले बिहीबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरे । बिहीबार नै गृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनले भेटेका छन् ।
राउत तराईमा उदयमान शक्ति बनेका छन् । उनले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मत अन्तरले हराउँदै सप्तरी २ बाट जितेका हुन् । उनको दल राष्ट्रिय दल बनिसकेको छ । जसका कारण उनी अब गठबन्धनमा समेत बार्गेनिङ गर्न सक्ने शक्तिका रुपमा उदाएका छन् । उनले किसानका मागलाई प्राथमिकतमा राख्दै चुनावमा होमिएका थिए । जसका कारण उनको दललाई जनताले रुचाएका छन् ।