सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक

काठमाडौं । सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि अझै सिटको बाँडफाँट टुग्याउन सकेको छैन । सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।

बिहीबार नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए । कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।