काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडानमा छ ।
गत शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका कारण पास भएन । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।
आज पनि नेपाली कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ । सहकारी प्रकरणको विषयलाई लिएर अवरुद्ध संसद खुलाउने प्रयासमा प्रधानमन्त्रीले आज पनि बालुवाटारमा शीर्ष नेताको बैठक आह्वान गरेका छन् ।