काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई रहा गर्न आदेश गरेको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने भएको छ ।
लामिछानेले पीडित परिवारसँग पनि कुनै सूत्रमार्फत सम्पर्क गर्न नपाउने आदेशमा उल्लेख छ । उनीमाथि बलात्कारको आरोप लागेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।