काठमाडौं । सप्तकोशीको बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरको बैठकले वेलका नगरपालिका वडा नं. ३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइका अनुसार वेलका नगरपालिका वडा नं ९ को धौरीमा तथा वडा नं ८ का एकता, चिलिया र दूर्गा मन्दिर टोलमा ५(५ सय घर परिवारका लागि आश्रयस्थल बनाइने छ । आवश्यकता अनुसार वडा नं १ का पुरन्दह र गलफडिया आधारभूत मावि, वडा नं. २ का रेडक्रस भवन र जनता मावि, वडा नम्बर ८ को डुडखोला सामुदायिक भवन तथा वडा नं ९ र ३ का खसीबोका संकलन केन्द्र, खानेपाली, क्याम्पस, मचुवा बजार र आदिवासी जनजाती भवनमा पनि आश्रयस्थलको रुपमा प्रयोग गरिने छ ।
बुधबार बिहान करिब ४ बजेतिर सप्तकोशी नदीको भंगालो दक्षिणपश्चिम क्षेत्रको वस्तीमा पसेको थियो । बाढीबाट प्रभावित करिब एक हजार परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले भत्काएको बाँध पनि मर्मत गर्ने काम भइरहेको छ । राहत वितरण तथा व्यवस्थापनको विषयमा छलफल गर्न बुधबार बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाको बैठक बसेको थियो ।