१ जेठ, काठमाडौं । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ । देशका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा भनेका छन्, “गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ । हामी तपाईँलाई एक पुरानो साथी, राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेताका रुपमा धेरै याद गर्नेछौँ ।’ मुजिकाले आफ्नो सन् २०१०–२०१५ को राष्ट्रपति कार्यकालमा आफ्नो धेरैजसो तलब परोपकारका लागि दान गरे र साधारण जीवनशैली अपनाएर ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ का रूपमा प्रसिद्धि कमाए ।
उहाँले फुटबल र गाईको मासुका लागि परिचित ३४ लाख जनसङ्ख्या भएको उरुग्वेलाई भ्रष्टाचार र शक्तिशाली शासनले पीडित महादेशमा प्रगतिशील राजनीतिको गढमा रूपान्तरण गरेका थिए । सन् २०२४ मे महिनामा उनलाई अन्नप्रणालीको क्यान्सर भएको पत्ता लागेको थियो, जुन पछि उनको कलेजोमा फैलियो । उनकी श्रीमती लुसिया टोपोलान्स्कीका अनुसार यस हप्ता उनले पोलिएटिभ हेरचाह प्राप्त गरिरहेका थिए । उनको निधनमा ल्याटिन अमेरिका र बाहिरका वामपन्थी नेताहरूबाट श्रद्धाञ्जलि व्यक्त भएका छन् ।
बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आफ्ना ‘भाइ’ मुजिकाको निधनबाट दुःखी भएको बताए । “म सधैँ अनुभव र बुद्धिले भरिएको उनको सल्लाह सम्झन्छु”, उनले भने । ब्राजिलको सरकारले उनलाई ‘हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मानवतावादीहरू मध्ये एक’ भनेर सम्मान गरेको छ भने स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुजिकाले ‘जुन कुरामा विश्वास गरे, अभियान चलाए, र बाँचे, त्यो ‘एक राम्रो संसार’ थियो भनेका छन् । आफ्नो छोटो शासनकालमा मुजिकाले गर्भपतन र समलिङ्गी विवाहलाई वैधानिक बनाए । उरुग्वेलाई मनोरञ्जनात्मक गाँजाको प्रयोगलाई वैधानिक बनाउने विश्वको पहिलो देश बनाए ।
उनले क्यान्सरको निदान पाएपछि पनि वामपन्थका लागि अभियान जारी राखेका थिए । एएफपीसँगको सन् २०२४ नोभेम्बरको अन्तर्वार्तामा उनले आफ्ना राजनीतिक उत्तराधिकारी, इतिहास शिक्षक ओर्सीको राष्ट्रपति विजयलाई आफ्नो करियरको अन्त्यमा ‘पुरस्कार’ का रूपमा वर्णन गरेका थिए । ठाडो कुरा गर्ने, हिउँ–जस्तै सेतो कपाल भएका राजनीतिज्ञ उपभोक्ता संस्कृतिका कट्टर आलोचक थिए । राष्ट्रपतिका रूपमा उहाँले कार्यालयका सुविधाहरू अस्वीकार गरे ।
उनी आधिकारिक कार्यक्रमहरूमा चप्पल लगाएर जान्थे । मोन्टेभिडियोको बाहिरी क्षेत्रमा आफ्नो सानो फार्ममा बस्न जारी राखे । त्यहाँ उनको मूल्यवान सम्पत्ति सन् १९८७ को फोक्सवागन बिटल थियो । सन् १९६० को दशकमा उहाँले माक्र्सवादी–लेनिनवादी सहरी छापामार आन्दोलन टुपामारोसको सह–स्थापना गरे । उक्त आन्दोलनले गरिबहरूलाई दिन धनीहरूबाट लुटपाट गर्न थाल्यो तर पछि यसको अभियानलाई अपहरण, बम विस्फोट र हत्याहरूमा विस्तार गर्यो । ती वर्षहरूमा मुजिकाले साहसिक जीवन बिताए । उनले धेरै गोलीका चोटहरू सहेका छन् । सामूहिक जेल ब्रेकआउटमा भाग लिए ।
तर जब सन् १९७२ मा टुपामारोसको पतन भयो, उनलाई फेरि पक्राउ गरियो र उरुग्वेको सन् १९७३–१९८५ को तानाशाही शासनकालमा पूरै जेलमा बिताए । त्यहाँ उनलाई यातना दिइयो र वर्षौं एकान्त कारावास भोगे । रिहा भएपछि उनी राजनीतिमा प्रवेश गरे । सन् १९८९ मा वामपन्थी ब्रोड फ्रन्ट गठबन्धनको सबैभन्दा ठूलो सदस्य मुभमेन्ट अफ पपुलार पार्टिसिपेसन (एमपिपि) को स्थापना गरे । सन् १९९५ मा संसद्मा निर्वाचित हुनुभयो र सन् २००० मा सिनेटर र त्यसपछि उरुग्वेको पहिलो वामपन्थी सरकारमा कृषिमन्त्री बने । उनले उरुग्वेको कार्यकाल सीमाअनुसार केवल एक पाँच वर्षे कार्यकाल राष्ट्रपतिको रूपमा सेवा गरे । उनका कुनै सन्तान थिएनन् ।