विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा जनताको पक्ष रहेको भन्दै देशभर भइरहेका आफ्नो सभा हेरेरै फैसला आफ्नो पक्षमा आउनु पर्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ ।
नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसक्ने बताए । उनले कुनै कारणले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सांसद किनबेच, सरकार बनाउने, ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने तर्क गरे ।
‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला,’ उनले भने, ‘यस्ता सभामा प्रकट भएको जनताको अभिमत हेरे होला ।’