काठमाडौं । समाजवादी मोर्चाले मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा आयोजना गर्ने भएको छ । दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यस्तो सभा गरिने छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा छन् । बुटवलको सभाको व्यवस्थापन नेकपाले गर्दैछ ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने भएका छन् । समाजवादी मोर्चाले यसलाई सन्देश सभा भनेको छ । मोर्चाले सातै प्रदेशमा सन्देश सभा आयोजना गरेको छ । भदौ ८ गते वीरगञ्जमा सभा गरेको थियो।
मोर्चाले धनगढीमा १३ गते, सुर्खेतमा १४ गते, पोखरामा १५ गते सभाको तयारी गरेको छ। त्यस्तै हेटौडामा २३ गते र विराटनगरमा भदौ २५ गते सभा गर्ने तयारी समाजवादी मोर्चाको छ ।