काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गरि पार्टीबाट निकाल्ने भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । उप्रधानमन्त्रीसहित ९ मन्त्रालय लिएर महन्त ठाकुर पक्ष सरकारमा गएको छ । यो शक्ति वर्तमान सरकारमा सबैभन्दा ठूलो हिस्सा समेत बनेको छ ।
यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । बिहीबार बसेको बैठकले सरकारमा सहभागी बाँकी नेतालाई समेत निकाल्ने निर्णय लिएको हो । बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका छन् । पार्टीभित्रको विवादबारे पुनः निर्वाचन आयोगमा फेरी जाने निर्णय जसपाले गरेको छ । आयोगले यो पार्टीमा दुबै पक्षको दाविलाई मान्यता दिएको छैन ।