सरकारले इतिहास मै धेरै काम गरेको छ : प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् ।

उनले भने, “हिजो हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौँ। जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन। दलाल पुँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन। तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन।”  सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने भनेर लेखिएको उनको भनाइ थियो।

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । प्रधानमन्त्रीले नियमित रूपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको बताए ।