काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सरकारले ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा वैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायराभन्दा बाहिर रहेको बताएका छन् ।
सामाजिक सुरक्षा कोषको सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखीकरण कार्यक्रम गर्नुभन्दा औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रिया मात्रै सञ्चालन गरेको बताए । यसले विदेशमा रहेका श्रमिकले कोषको महत्त्व नै बुझ्न नसकेको उनको भनाइ छ ।
‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढीभन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकालाई कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । एउटा पनि काम भएको छैन,’ केसीले भने ।
उनले विदेश जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाका रूपमा मात्रै सञ्चालन भइरहेको बताए । सोहीकारण ५० लाख बढी नेपाली वाह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै कोषमा आबद्ध भएको उनको भनाइ छ । कोषमा निरन्तर योगदान हुन नसकेको भन्दै उनले ठोस योजना ल्याउन आग्रह गरे ।