काठमाडौं । सरकारको काठमाडौं उपत्यका र बाहिर गरी कूल २ सय २० आइसीयू बेड थप्ने भएको छ । उपत्यकामा १ सय २० र बाहिर १ सय आईसीयू बेड थप्ने निर्णय सरकारले गरेको छ ।
उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय संयन्त्रले काठमाडौंमा आइसीयू बेड थप्न अस्पताल समेत तोकेको छ ।
कोरोना भाइरस फैलिएमा त्यसको रोकथामका लागि यस्तो निर्णय गरिएको हो । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक सोमबार बसेको थियो ।
सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०\२० वटा आईसीयू वेड थप गर्ने भएको छ ।
प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी निर्णय सरकारले गरेको छ ।
बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको छ ।
जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००\१०० आइसोलेटेड बेड तयार हुने भएको छ ।
भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाउने निर्णय समेत गरेको छ ।
बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीको भत्ता बढाउने निर्णय समेत गरेको छ । बैठकले २० हजार थान सेफ्टी किट, १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिदको निर्णय समेत गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक उडान हुने विमानस्थलमा प्रस्थान गर्ने यात्रुको स्क्यान गरिने भएको छ । भारतसँगको सीमा नाकामा कडाई गर्ने निर्णय समेत सरकारले गरेको छ ।