काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने भएको छ । यसका लागि खरिद प्रक्रिया समेत शुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप किन्न अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरिसकेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा उपस्थित भएका सचिव अर्यालले यस्तो जानकारी गराएका हुन् ।
नेपाललाई भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको छ । चीन सरकारले ८ लाख डोज खोप दिने घोषणा गरेको छ । सरकारले भारतबाट यसअघि २० लाख डोज खोप किनिसकेको छ । त्यसमध्ये १० लाख डोज नेपाल आइसकेको छ ।
नेपालले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप किनेको छ । उता, कोभ्याक्समार्फत समेत पहिलो चरणमा नेपालमा २२ लाख डोप आउने छ । यसरी सबै खोप हेर्दा कुल १ करोड १० लाख डोज खोप उपलब्ध हुने भएको सचिव अर्यालले उल्लेख गरे ।