सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

काठमाडौं । सरकारले आफ्नो माग सम्बोधन गर्न सहमत भएसँगै निहारिका राजपुतले अनशन तोडेकी छिन् । उनी १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी थिइन् । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार साँझ अनशन तोडेकी हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाडौंमा अनशन बसेकीहुन् । सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उनले अनशन रोकेकी थिइन् । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उनले राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।