सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चल्दा एक प्रहरी घाइते भएका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो ।

पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी गराएका छन् । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी रहेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।