सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना सख्त घाइते भएका छन् ।

सख्त घाइते भएका तुलसीपुर उपमहानगरपालिका–२ बस्ने वर्ष ३५ का नारायण योगीलाई उपचारको लागि प्रादेशिक अस्पताल दाङ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जिप दुर्घटनामा परेर मृत्यु भएका दुवैको अहिले सनाखत नभएको उनले जानकारी गराए । उनका अनुसार तरकारी बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको जिप सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।