सवारी चालकले १६ प्रकारका गल्ती गर्दा तिर्नुपर्नेछ अब न्यूनतम १५०० जरिवाना

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना रकम वृद्धि गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको हो । ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको छ । यसअघि यी विभिन्न शीर्षकमा ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्दै आएको थियो।

तर अब यी शीर्षकमा न्यूनतम १५०० रूपैयाँ जरिवाना हुनेछ। ‘पहिले न्यूनतम ५०० देखि अधिकतम १५०० रूपैयाँसम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका १६ वटा शीर्षकमा अब न्यूनतम नै १५०० रूपैयाँ जरिवाना गर्ने निर्णय भएको हो ।
२०७५ सालमा प्रत्यायोजित अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको प्रहरीको भनाई छ । यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनीकरण हुने विश्वास प्रहरीको छ ।


न्यूनतम १५०० रूपैयाँ जरिवाना हुने १६ कसूर

१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा
२. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा
३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा
५. एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा
६। अवस्था ठिक नभएको सवारी चलाएमा
७. राति बत्ती नबाली सवारी चलाएमा
८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा
९. नम्बर प्लेट नराखी सवारी चलाएमा
१०. सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा
११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा
१२. लापरवाहीका साथ सवारी चलाएमा
१३.सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
१४. लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा
१५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा
१६.हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा