काठमाडौं । सशस्त्र प्रहरी बल नेपालकी एक महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मृत भेटिनेमा पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् । पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकको एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्स्पेक्टर विरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेको स्रोतले बताएको छ ।