काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ । सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछाने सहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिएका थिए ।
एमाले सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भएको थियो । समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो । तर, लामिछाने नेतृत्वको रास्वपाले भने प्रतिवेदनले उनलाई ‘क्लीन चिट’ दिएको दाबी गरेको थियो ।
प्रहरीले भने प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा ‘जरुरी पक्राउ पुर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लियो । जोशीको परिवारले सर्वोच्च अदालतमा पक्राउ विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दिएको थियो । अदालतले १६ असोजमा उनलाई गैरकानूनी हिरासतमा राखेको भन्न नमिल्ने ठहर गर्यो । यद्यपि, दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको थियो ।