साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको साँखुमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुका टिपरले ठक्कर दिँदा दुई मोटरसाइकलका चालकको ज्यान गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका नेवा पत्रकार कोषका सहकोषाध्यक्ष पवनलाल श्रेष्ठको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्काको शङ्खरापुर अस्पतालमा ज्यान गएको हो । बा ८२ प ८३५७ नम्बरको मोटरसाइकलमा पछाडि रहेकी शङ्खरापुरकै २० वर्षकी पुनम श्रेष्ठ घाइते भएकी छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार जारी छ । ठक्कर दिने बा ५ ख २४१४ नम्बरको टिपरसहित चालकलाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ ।