सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

काठमाडौं । खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको छ। तर चिकित्सकहरूले ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने जानकारी दिएको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताएका छन् ।

भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्। शुक्रबार २ वटा शल्यक्रिया गर्ने तयारी गरिएको चिकित्सकहरूले जानकारी दिएको उनले बताए।

भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो।


भण्डारीको यसअघि कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो। आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए। हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो।