साउदी अरबमा एक वर्षमा सय भन्दा धेरै विदेशीलाई मृत्युदण्ड

काठमाडौं । साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ । यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ । पछिल्लो मृत्युदण्ड शनिबार दक्षिणपश्चिमी क्षेत्र नजरानमा, खाडी राज्यमा लागुऔषध तस्करी गरेको आरोपमा यमनका एक नागरिकलाई दिइएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ। राज्य मिडिया रिपोर्टहरूबाट सङ्कलित तथ्याङ्कअनुसार यसले सन् २०२४ मा मृत्युदण्ड दिइएका विदेशीहरूको सङ्ख्या एक सय एक पु¥याएको छ ।

यो सन् २०२३ र २०२२ को तथ्याङ्कको लगभग तीन गुणाभन्दा बढी हो । साउदी अधिकारीहरूले ती प्रत्येक वर्ष ३४ विदेशीलाई मृत्युदण्ड दिएका थिए । बर्लिनस्थित युरोपेली–साउदी मानवअधिकार सङ्गठन (इएसओएचआर) ले यस वर्षको मृत्युदण्डले रेकर्ड तोडेको बताएको छ । साउदी अरेबियाले मृत्युदण्डको प्रयोगका कारण निरन्तर आलोचनाको सामना गरिरहेको छ । यसलाई मानव अधिकार समूहहरूले यसको आफ्नो कठोर छवि नरम पार्ने र अन्तर्राष्ट्रिय पर्यटक र लगानीकर्ताहरूलाई स्वागत गर्ने प्रयासहरूसँग असङ्गत भएको भन्दै निन्दा गरेका छन् ।

एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीलाई तेल–समृद्ध राज्य साउदी अरेबियाले मृत्युदण्ड कार्यान्वयन गरेको थियो । सेप्टेम्बरमा एएफपीले साउदी अरेबियाले सन् २०२२ मा एक सय ९६ र सन् १९९५ मा एक सय ९२ को अघिल्लो उच्च सङ्ख्यालाई उछिन्दै तीन दशकभन्दा बढीमा सबैभन्दा बढी मृत्युदण्ड दिएको रिपोर्ट गरेको थियो ।

त्यसबेलादेखि मृत्युदण्ड द्रुत गतिमा जारी छ र एएफपीको तथ्याङ्कअनुसार आइतबारसम्म यस वर्षका लागि कूल दुई सय ७४ जनालाई मृत्युदण्ड दिइएको छ । यस वर्ष मृत्युदण्ड दिइएका विदेशीमध्ये पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना रहेका छन् । त्यस्तै सुडान, भारत र अफगानिस्तानबाट तीन–तीन र श्रीलङ्का, इरिट्रिया र फिलिपिन्सबाट एक–एक जना थिए ।