काठमाडौं । साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीले दूतावासको सिफारिसमा बहिर्गमन (एक्जिट) भिसा पाउन थालेका छन् । विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्न आवश्यक पहल गरेको बताएको छ । सन् २०२३ मा मात्र दुई हजार जनाभन्दा बढी नेपाली नागरिकहरूले रियादस्थित नेपाली दूतावासको पहलमा त्यस्तो भिसा पाएका छन्।
सन् २०२४ को साढे दुई महिनामा पनि उल्लेख्य सङ्ख्यामा कामदारहरूले त्यस्तो भिसा पाएको बीबीसीले लेखेको छ । कागजातविहीन बनेको दूतावासमा निवेदन दिएपछि सम्बन्धित निकायमा पहल गरी दूतावासले भिसा मिलाउने काम गरेको छ । यस वर्षको पहिलो साढे दुई महिनामा ८८६ जना नेपाली नागरिकले यस्तो भिसा लिएर स्वदेश फिर्ता भएका छन् । साउदी अरबमा हजारौँको सङ्ख्यामा कागजपत्रविहीन कामदारहरू रहेको अनुमान गरिएको छ ।
गैरकानुनी बनेर गत वर्ष एक्जिट भिसा पाएका दुई हजार जनाभन्दा बढी नेपालीमध्ये अधिकांशले साउदी अरेबियामा आवासीय अनुमति (आईकमा) नवीकरण नगरेको पाइएको छ। यस्तो अनुमतिको नवीकरण रोजगारदाताले गरिदिनुपर्ने हो तर रोजगारदाताले नवीकरण नगरिदिने र कामदारहरूले पनि त्यसको बेवास्ता गर्दा उनीहरू गैरकानुनी बन्ने रहे गरेका छन् ।