साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले यस्तो पुष्टी गरेको हो । राजकुमार फैजल दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । प्रवक्ता सेवा लम्सालका अनुसार राजकुमार फैजल सोमबार अपराह्न नेपाल आइपुग्ने छन् । उनको भ्रमणका अवसरमा नेपाल सरकारले गर्ने तयारीको काम पुरा गरिसकेको छ ।

नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग राजकुमार तथा साउदी विदेशमन्त्री फैजलको मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

मन्त्री खड्काले राजकुमार फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन् । साउदी अरव धेरै नेपाली रहेको मुलुकमध्ये एक हो । यस भ्रमणमा दौरान नेपाली कामदारको हकहित र द्धिपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ ।