काठमाडौं । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं ओर्लिएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज दिनभर व्यस्त रहनेछन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल २३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै निजी विमानमार्फत् फागुन ३० गते बेलुकी नेपाल आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले दिवा भोज आयोजना गरेका छन् । त्यसपछि उनी आजै स्वदेश फर्कने छन् ।