काठमाडौं । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचको नयाँ प्रतिवेदनमा साउदी सीमारक्षकहरूले यमनसँग सीमा जोडिएको क्षेत्रमा कैयौँ आप्रवासीहरूको सामूहिक हत्या गरेको आरोप लगाइएको छ।
बीबीसीका अनुसार प्रतिवेदनमा युद्धग्रस्त यमन हुँदै साउदी अरब जान खोज्ने सयौँ मानिसलाई गोली हानेर हत्या गरिएको उल्लेख छ। साउदी सीमारक्षकहरूद्वारा मारिएका भनिएका आप्रवासीमध्ये अधिकांश इथियोपियाली नागरिक हुन् । आप्रवासीहरूले गोली लागेर आफ्नो अङ्गभङ्ग भएको र आफूहरूले बाटोमा शवहरू देखेको बीबीसीलाई बताएका छन्।
साउदी अरबले यसअघि नियोजित हत्याको आरोप अस्वीकार गरेको थियो। ह्ययूमन राइट्स वाचको प्रतिवेदनमा आप्रवासीहरूले सुनाएको बीभत्स वर्णन समावेश छ। उनीहरूले साउदी प्रहरी तथा सैनिकहरूले साउदी अरब र यमनबीचको अप्ठ्यारो सीमामा आफूहरूमाथि गोली प्रहार गरेको र विस्फोटक अस्त्र ताकेको बताएका छन्। बीबीसीले छुट्टै कुरा गरेका आप्रवासीहरूले पनि रातको समयमा सीमा पार गर्दाको अत्यासलाग्दो अवस्था वर्णन गरेका छन्।
उनीहरूका अनुसार महिला र बालबालिकासहित साउदी अरब प्रवेश गर्ने इथियोपियालीहरूको ठूलो समूहमा गोली प्रहार भएको थियो। उनीहरूलाई यमनी र इथियोपियाली तस्करहरूले त्यहाँ पुर्याएका थिए। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमका अनुसार प्रत्येक वर्ष दशौँ हजार मानिसहरू होर्न अफ अफ्रिकाबाट समुद्र पार गरेर यमन साउदी अरबतिर जान्छन्। मानव अधिकारवादी संस्थाहरूका अनुसार धेरै मानिस बाटोमै जेल पर्छन् वा कुटिन्छन्।
यहाँको समुद्र पार गर्न पनि निकै डरलाग्दो छ। गत साता मात्रै जिबूटीनजिकै समुद्रमा एउटा डुङ्गा डुब्दा २४ जनाभन्दा धेरै आप्रवासी हराइरहेका छन्। यमन हुँदै आप्रवासीहरू साउदी सीमासम्म जाने बाटोमा चिहानहरूको लस्कर छ। यात्राका क्रममा ज्यान गुमाएका मानिसहरू त्यहाँ पुरिएका छन्।
यमनको अधिकांश उत्तरी क्षेत्र त्यहाँका विद्रोहीहरूको कब्जामा छ। उनीहरूले सञ्चालन गरेको हिरासतमा दुई वर्षअघि आगलागी हुँदा दर्जनौँ आप्रवासीहरूको मृत्यु भएको थियो। तर ह्यूमन राइट्स वाचले औँल्याएको दुर्व्यवहारको मात्रा योभन्दा पनि ठूलो छ।