काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित मंगलबार रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट ६ लाख र गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको जानकारी गराएको छ । यससँगै उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो । रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उनको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उपसचिव नेपालले खुलाउन सकेका छैनन् । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो । अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।
तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ । त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ । नेपाल मात्र ३८ वर्षका छन् ।