अमृता के सी ( रोनी )
काठमाडौँ, भाद्र १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियानको शुभारम्भ गरियो । बुधबार एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेको प्रमुख आतिथ्यतामा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान सुरु गरिएको हो ।

बूढानीलकण्ठ वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गो.न.पा. वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गो.न.पा. ९ का वडा अध्यक्ष राजीव थापा, राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, गोकर्ण प्रहरी प्रभाग प्रमुख प्र.न.नि. रामजी घिमिरे, गो.न.पा.४ का सचिव नवराज सेन लगायत स्थानिय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

वृक्षरोपण अभियान बारे प्रकाश पार्दै राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सिग्देलले प्रधानमन्त्रीबाट देशभरी निजामती कर्मचारी, राष्ट्रसेवक प्रहरी, आर्मीबाट अभियानको रुपमा भाद्र २२ गते निजामती सेवा दिवसको दिन सम्म साताव्यापी कार्यक्रम रहेको जानकारी गराए। उनले निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन क्षेत्रमा नै राष्ट्रसेवक कर्मचारीहरुले सुरु गरेको अभियानलाई स्थानिय संघ, संस्था,समुदाय र सरोकारवाला निकायहरुले साथ दिने बताए।साथै ” जल, जमिन र जंगलको संरक्षण र उपयोग गरौं। एक घर दुइ रुख, एक गाउँ एक वन र एक नगर अनेक उध्यानको अवधारणा साथ समितिलाई टेवा पुर्याउ भन्ने सन्देश दिएका थिए” ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज ढुंगानाले हाल सम्म नेपालको भुभाग भन्दा पनि वृक्षारोपण धेरै भएकोले कार्यक्रमले सार्थकता पाउन वृक्षारोपण गरि रोपेको विरुवालाई स्याहार, सम्भार र संरक्षणमा जोड दिनुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्र.ना.उ. ढुण्डीराज न्यौपानेले महानगरीय प्रहरी वृत्त बौद्धको आयोजनामा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रम सफल शुभारम्भ भएको बताउदै ” हरियो वन नेपालको धन” नारालाई आत्मसात गर्दै थोरै बिरुवा रोपौं तर रोपिएको विरुवाको जगेर्ना गर्न सबै लागि पर्न सुझाव दिए।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै बूढानीलकण्ठ वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले सरकारले राष्ट्रव्यापी अभियान सुरु गरेकोले सफल बनाउन सबैलाई अनुरोध गरेका छन्।साथै वृक्षारोपणले राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन साथै आसपासको सार्वजनिक भूभागको संरक्षण, हरियाली र सौन्दर्यतालाई बढाउने बताउदै जति बिरुवा रोपेका छौँ ती सबै विरुवालाई हुर्काउन सामुहिक रूपमा सबैले हालेमालो गर्नुपर्ने बताए।वृक्षरोपण कार्यक्रममा फल दिने साथै सौन्दर्य जातका करिब ३० बोट बिरुवा रोपिएको थियोे।
