काठमाडौं । आठपल्टको च्याम्पियन भारत र कुवेतबीच साफ च्याम्पियनसिप २०२३ को फाइनल हुने भएको छ । डिफेन्डिङ च्याम्पियन भारतले शनिबार राति दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्यो । त्यसअघि कुवेतले पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेको थियो । फाइनल मंगलबार हुनेछ । भारत र कुवेत एउटै समूहमा थिए ।
लिग चरणको खेल बराबरीमा टुंगिएको थियो । फाइनल पुग्नेक्रममा दुवै टिम अपराजित छन् । बेंग्लुरुस्थित कान्तिरभा स्टेडियममा भएको खेलमा भारत र लेबनानले निर्धारित ९० र थप ३० मिनेट गोलरहित बराबरी खेले । टाइब्रेकरमा भारतीय गोलरक्षक गुरप्रित सिंहले सुरुमै लेबनानी कप्तान हसन माटुकको प्रहार जोगाए । लेबनानका खलिल बाडेरको प्रहार बाहिरिएको थियो । भारतको तर्फबाट भएका चारै प्रहार गोलमा परिणत भए ।
भारतका लागि कप्तान सुनील क्षत्री, अनबर अली, महेश सिंह र उदान्त सिंहले गोल गरे । लेबनानका वालिद सोर र मोहम्मद साडेकको प्रहार मात्र गोलमा परिणत भयो । भारतले पछिल्लो महिना इन्टरकन्टिनेन्टल कपको फाइनलमा पनि लेबनानलाई हराएको थियो । यसअघि कुवेतले आफ्नो पहिलो सहभागितामै प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो ।
टोलीको जितमा अब्दुल्लाह अलबुलोसी नायक रहे । कुवेतले बंगलादेशलाई अतिरिक्त समयको गोल मद्दतमा हराएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि अलबुलोसीले अतिरिक्त समयको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।
पूरा खेल अवधिमा बंगलादेशले बलियो चुनौती पेस गरे पनि निर्णायक मोड आफ्नो पक्षमा पार्न असफल रह्यो । बंगलादेश १४ वर्षयता पहिलोपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको थियो । कुवेत भने साफमा आमन्त्रित दुई टिममध्ये एक हो ।