काठमाडौं । भारतले सडनडेथमा मंगलबार कुवेतलाई पराजित गर्दै नवौंपल्ट साफ च्याम्पियनसिप फुटबल जितेको छ । कुवेती कप्तान खालेद हाजिहको पेनाल्टी प्रहारलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाउ गरे र यससँगै डिफेन्डिङ च्याम्पियन भारत टाइब्रेकरमा ५–४ ले विजयी रह्यो ।
भारतका लागि पेनाल्टी सुटआउटमा कप्तान सुनील क्षत्री, सन्देश झिंगन, लालिनजुला, शुभाशिष बोस र महेश सिंहले गोल गरे भने उदान्त सिंह गोल गर्न चुकेका थिए । कुवेतका लागि मोहम्मद अब्दुल्लाह सुरुमै गोल असफल रहे । आमन्त्रित टिमका लागि फवाज अलाताबी, अहमद अलधेरी, अल्दुल अजिज र साबिब अल खाल्दीले मात्र गोल गरे ।
बेंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटको स्थिति १–१ को बराबरीमा रहेको थियो । यससँगै खेलको निर्णयका लागि टाइब्रेकर आवश्यक परेको थियो । निर्धारित समयको खेलको १४ औं मिनेटमा कुवेतले सुरुआती अग्रता लिएको थियो ।
अब्दुल्ला अल बलोसीले निकालेको क्रसमा साबिब अल खाल्दीले गोल गरे । कुवेतको यो अग्रता भने लामो समय टिकेन र भारतले ३८ औं मिनेटमा बराबरी गोल फर्कायो । साहल अब्दुल समादको पासमा लालिनजुलाले बललाई पोस्टको दिशा दिए । त्यसपछि निर्धारित र अतिरिक्त समयको बाँकी खेलमा दुवै टिम थुप्रै अवसरमा चुके ।
सुरुआती चरणको लिग खेलमा दुवै टिम एकै समयमा थिए । त्यसक्रममा भएको खेलमा दुवै टिमले बराबरी खेलेका थिए । सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले र भारतले दोस्रो आमन्त्रित टिम लेवनानलाई टाइब्रेकरमा ४–२ ले हराएका थिए । भारतले यसअघि पछिल्लो महिना मात्रै इन्टरकन्टिनेन्टल कपको उपाधि पनि जितेको थियो । २५ हजारभन्दा बढी उपस्थित फाइनल खेल नेपालका फिफा रेफ्री प्रज्वल क्षत्रीले खेलाएका थिए ।
नेपालले प्रतियोगितामा फेयर प्लेको ट्रफी जितेको छ । भारत र कुवेतसहितको समूहमा रहेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भारतीय कप्तान सुनील क्षत्रीले गोल्डेन बुट र गोल्डेन बल दुवै जिते भने बंगलादेशका अनिसुर रहमान उत्कृष्ट गोलरक्षक चुनिए ।